बहाना ‘साईँली’ थियो, संयोग अनेक भैदियो

-शकुन आँशु
यो हप्ता शनिबार देखि नै बिदा थियो । शुक्रबार छिटै छुट्टि भएपनि जानु कतै थिएन, गैएन । कोठामै बसियो, अाईतबारको लागि पुर्णरुपमा तयार पार्नु थियो अाफुलाई । अाईतबार अर्थात् कोरियामा ‘साईली’ फिल्म प्रदर्शन हुने दिन । शनिबार केहि साथीहरुसङग मेसेन्जरमा कुरा गरेँ, भोलि ‘साईली’ हेर्नु अाउनु, भेटौँ भन्ने निम्तो बाँडेकी थिएँ । जसभित्र कवि बोनम प्रताप मल्ल पनि हुनुन्थ्यो । तोङदेमुन अाउने तर साथीको बिहेमा सहभागि हुने कुरा बताउनुभयो । समय रहे सङगै फिल्म हेर्ने सम्भावना सम्म पुग्यौँ र छुट्टियौँ ।

अाईतबार बिहान १०:३० हुँदो हो, सौलको तोङदेमुन यात्रा सुरु भयो । म र एकजना साथी, जस्लाई सङबु यग बाट देरिम यग पुग्ने ट्रेन चढाईदिनु छ । अनि म सिधै तोङदेमुन यग को गेट नं ३ मा पुग्नु छ । फिल्म हल तोङदेमुन मै नभएपनि त्यहाँ दिपा नानी, पार्बती नाना लगायत साथीहरु हुनुन्छ । पार्बती नानासङग फोन गरिसकेकी छु । त्यसो त नेपालीहरुको लागि तोङदेमुन जक्सन यरिया हो । अझ गेट नं ३,,,, यो शीर्षकमा धेरैले कलम घुमाईसक्नुभएको छ तसर्थ थप बोल्न चाहिनँ । करिब २५ मिनेट पछि तोङदेमुन यग अाईपुग्यो ट्रेन, उसैको पाखुरा समातेर अाईपुगेँ म पनि । ११ बजिसकेको थियो होला, गेट नं २/३ पछ्याउँदै छिटोछिटो सिँढि उक्लिएँ । म अगाडि ३/४ जना केटा साथीहरु कार्ड छुवाउँदै लगेजहरु अप्ठ्यारो गरि छिराउँदै हुनुन्थ्यो । म अाफु भने छिर्नलाई हतार गरिनँ, एकछिन् उभिएँ । एकजना अग्लो कदवाला मान्छेलाई चिने झैँ लागेर मजैले हेरेँ तर साईड र पछाडिबाट मुस्किल भयो चिन्नलाई । अनि कार्ड छुवाउँदै पारि पुगेँ, हेराहेर भयो, खास अचम्मित भएनौँ, खुसिले उफ्रिएँ, दुवै हाँस्यौँ उहाँ त उनै कवि बोनम प्रताप मल्ल पो । दाह्रीलाई माया गर्नुभाको रैछ र चिन्न गार्हो भयो । हिजोको बेहुलाबेहुली चिनाउनुभयो, बधाई भनेँ । बिहेको ह्याङगिङ अलिलि जिवितै थियो सायद उहाँमा अनिन्द्रा, चिसोतातो । फिल्म हेर्न जाउँ, खास कर गरिन, उहाँ साथीहरुसङग हुनुन्थ्यो म एक्लै भए जसरि फ्याट्टै हिँड्न सजिलो थिएन अनि फेरि खल्लो हुँदै छुट्टियौँ ।

दिपा लाई फोन गरेँ । मिटिङ भैरहेको र सकिन लागेको बताईन् । यतै अाउनु भनिन् जान मन लागेन । सकेर कल गर भनेँ, कता जाउँ ?? तत्काल लाई भेट्नु कसैसङग थिएन । अलि भित्रपट्टि कृष्ण कटेज छ, तेहिँ गएर एकछिन् सुस्ताउँछु लागेर उतै मोडिँएँ । पैला एकचोटि साथीले लगेर मिठो थुक्पा खुवाएको छ त्यो कटेजमा । शान्त छ बस्नलाई पनि, बाटोभन्दा भित्रपटि पर्ने भएकोले कोलाहल सुन्य । मोबाईल हातमै छ, साईलेन्स छ ता पनि कसैको फोन/मेसेज अायो भने टुप्लुक्कै देखिहालिन्छ । यहिँबेला मेसेन्जरमा मिलनकान्छा किराँती सरको मेसेज अायो, यतै पो हुनुन्छ कि लागेर बोल्न थालेँ । हो रहेछ, संयोग मिलिहाल्यो गेट नं ३ मा भेटौँ, सल्लाह गर्यौँ । तेसो त उहाँको कविताकृति ‘ फूलको विज्ञप्ती ‘ अाईसकेपछि पटकपटक भेट्ने कुराहरु भयो, समयले यो मौका दिईरहेको थिएन र भेट्न सकिरहेका थिएनौँ , तर अाज यो मौका मिलिरहेको थियो । उहाँसङग बोल्दै कृष्ण कटेजको ढोकैनजिक पुगेको पाइलाहरु तुरुन्तै फर्काएँ ।

उहाँ भन्दा अघि नै गेट नं ३ मा म पुगेँ । मानिसहरु बाटोमा ठोक्किँदै अोहोर दोहोर गरिरहेका थिए। यसमध्ये पनि अधिकांश नेपाली अनुहार । दायाँबायाँ हेर्दैथिएँ उहाँ अाईपुग्नुभयो । खुसि भएँ, साहित्य सन्दर्भमा पनि बिशेष कविताको बारेमा धेरै कुराहरु उहाँबाट सिकिरहेकै बिधार्थी हुँ म । ‘लेखनमा नशा लाग्नुपर्छ र लेख्नुको मज्जा अाफैले लिनुपर्छ’ उहाँका यि गहन लाईनहरु सबैभन्दा बढि महशुस गरिरहेकै हुन्छु । उहाँको हस्ताक्षर सहित ‘फूलको विज्ञप्ती’ किताव थमाउँदै गर्दा भन्नुभयो – “तपाईको पनि एकमुष्ट कविताहरु चाँडै अाउनुपर्छ मिस” । उर्जा महशुस गर्दै `हुन्छ, कोसिस गर्नेछु सर´ टाउको दायाँबायाँ लर्काउँदै जवाफ दिएँ । बाँकी बोल्नु धेरै थियो तर उहाँ अन्तै चाँडै जानुथियो, म पनि अल्लि हतारमै थिएँ, अनि हामी त्यहिँबाट छुट्टियौँ ।

१२ बज्न लागेको थियो । उता साईली फिल्म सुरु भैसक्योहोला । मन अात्तियो दिपाले फोन गरिन, बिशेष ‘साईली’ हेर्नुथियो मलाई । ठ्याक्कै तै बेला उत्तम खजुमले फोन गर्नुभयो । उहाँ र दिपा सङगै हुनुहुँदो रैछ । फिल्म हेर्न छिटो जाउँन भन्छु त फेरि उता अधिवेशन सकेर पो जाने भन्नुहुन्छ, फिल्म सुरु भाको छैन रे,, पत्याएँ, उहाँहरुसङग भेटेँ र फेरि अर्को खुसि बटुलेर लाग्यौँ नेपाल हाउस । हिजो साँझ गणेश लिम्बु सरले कल गरेरै निम्तो बाँड्नुभएको थियो । भोलि हाम्रो अधिवेसनमा अाईदिनुहोला । हुन्छ भनिटोपलेकी थिएँ, हो न हो पुगिहालियो । हलबाहिरै उहाँहरु हुनुहुँदो रहेछ, करिब कार्यक्रमको अन्तिम चरण अर्थात् बन्द सत्र भैरहेको रहेछ, ढिलो पुगेकोमा गणेश सर ले शब्दले स्वागत गरिहाल्नुभयो, लु अाईदिनुभो अब बिस्कुट, चिया खाएर जानुहोला । उत्तम खजुम, दिपा र म हाँस्दै हलभित्र छिर्यौँ जसै बिस्कुट र जुस हातमा अाईहाल्यो , खायौँ परिचय लियौँ/दियौँ र हामी बाहिरियौँ । सङगै जोडिएर अायौँ बालकृष्ण बान्तावा दाजु, सुदिप फागो लगायत साथीहरु । सबैलाई चिनिनँ तर हामी एक भएर अायौँ फिल्म हलतिर । उच्चाट गर्मि सुरु भैसकेको रहेछ, नेपालको न्यूरोड जत्तिकै तोङदेमुन गल्लीभरि फिजिँएको फाटफुटे पसल, सस्तो व्यापारको लागि पसलेहरुको चर्को चिच्याहट अनि घामको मध्यबैँश । टाउकोमा अड्याएको कालो चस्मा नाकमा अड्याउन थाल्नुभयो सबैले म भने क्यापमै शितलता खोज्न थालेँ । ट्याक्सि पर्खिरह्यौँ कमसेकम फिल्महलसम्म छिटो पुग्नु छ ।

पार्बती नानाहरु अघि पुगिसक्नुभएको रहेछ । तेसो त उहाँहरु नै अायोजक पनि । हामी पुग्नुबितिकै फोटो खिच्यौँ दुईचार वटा । अनि हलभित्र पस्यौँ । फिल्म सुरु भएकै थिएन घडि ठ्याक्कै हेरिनँ तर तोकिएको समय भन्दा कति हो कति पर धेरै पर । हलको ढोकैमा मगमगाउँदै चट्पटेको गाडि बसेको रहेछ । दिपाको मुहारमा ज्योति अाईहाल्यो । खाना भन्दा बढि चट्पटे मनपराउने उनलाई यो भन्दा खुसिको कुरा सायदै थिएन । कस्को यो चट्पटे? कि अायोजकको ?? मैले सोधेको दुईटा प्रश्नलाई पदम दाजुले एउटै उत्तर दिनुभयो ध्यान दाईको हो । गाडि पुरै धकेलेर अलि बाहिरपट्टि पुर्यायौँ । छाँते टेबलहरु खुब अाकर्षक तरिकाले सजाईएको रहेछ । छेउमै फुलेको फूलको अगाडिपट्टि बसेर निकैबेर फोटो खिच्यौँ दिपा, पदम दाजु र अरु दाजुहरु । म त्यहिँ फूल हेर्दैथिएँ दिपा कतिखेर गएर चट्पटे बनाउन थालेकी रहिछे । मुरहि, वाईवाई चाउचाउ, भुटेको बदाम, हरियो केराउ दाना लगायत मरमसाला लगाएको स्वादिष्ट चट्पटे छिनमै बनाईन् र हामी मिठो मान्दै खायौँ, उत्तम जी लाई पिरो पुगेन रे । भरै पिरो बनाएर खाउँला भनेर छिर्यौँ हलभित्र ।

ढोकाबाटै हाम्रो असन्तुष्टि उछिट्टियो मुखबाट अरे! स्कृन त यस्तो पो? । उत्तम जी र मेरो अावाज फुत्कियो, दिपा बोलिन । फिल्म सुरु भैसकेको थियो, एकदमै असोचनिय, हल मल्टिस्क्रिन रहेछ । अगाडिपट्टि तीनवटा ठुलो र अलि पछि तीनवटा स-सानो । पस्नुबितिकै तिरिमिरि त भईन्छ नै हलभित्र, तर म त तित्तरबित्तर नै भएँ । सोचेको थिएँ एउटै पर्दामा ठुलो अाकारमै देखिएला, बरु तस्बिरहरु धुमिल अाउन सक्ला अफसोस यहाँ त बिल्कुल नसोचेको भैदियो । अगाडि पनि २ फिल्महरु हेरेको थिएँ, पर्दा एउटै थियो मजा लागेको थियो तर यो पालि त्यो भैदिएन । पछाडि बसेपछि सबै स्क्रिनमा अाँखा पुग्यो, जता भ्यायो उतै हेरियो । डाईलगहरु सुनियो पिक्चर राम्ररी देखिएन सुनेकै भरमा हाँसियो मध्यान्तर भैहाल्यो ।

१५ मिनेटको रेस्ट समय थियो, खाने, पिउने ट्वाईलेट जाने जे गरे पनि तेसपछि फेरि फिल्म सुरु हुनेछ । हामी सिधै चट्पटे मै पुग्यौँ, र अरु सबै पनि । बालकृष्ण दाजु लगायतका दाजुहरु ब्यस्त हुनुहुन्थ्यो अघिबाटै । दिपाले पनि प्लाष्टिकको पञ्जा लगाईवरि चट्पटे बनाउन थालिन्। म पनि मुरहि, चाउचाउको प्याकेट फुटाउँदै सहयोग गर्न थालेँ । तेसो त तेहाँ चट्पटे मात्रै थिएन, मासु चिउरा अनि क्यान बियर जुसहरु थियो । छिनमै झुरुप्प सबैले छोपिल्याउनुभयो । हुन पनि यै सटिक समयमा सबैले खाईसक्नु छ, ब्यापारीको हैरान पनि यस्तै बेला देख्नु छ । १५ मिनेटपछि अलि फार्से पाईयो सायद फिल्म सुरु भैसक्यो र सबै भित्र पसिसक्नुभयो । अब बल्ल हामी चट्पटे खान थाल्यौँ । दिपाले चाउचाउ धेरै हालेर स्पेशल बनाईन् हाम्रो लागि, पिरो पनि मिल्यो उत्तम जी लाई । सेसेहाङ दाजु र चाईनिज कान्छा दाजुले जुसहरु किनिदिनुभयो दिपा र मलाई । उत्तम जी क्यान बियर समातेर भन्दैहुनुन्थ्यो सातअोटा त भैसक्यो मिस । जति भए नि पचाउनुहुन्छ केरे, मैले ब्यङग्य गर्दिएँ, उहाँ रिसाउनुभएन, बरु हाँस्नुभयो । फिल्म हेर्नुथियो, र खानुपनि थियो, प्लाष्टिकमा चट्पटे हालेर जुस बोकेर हलभित्र छिर्यौँ, उत्तम जी हराउनुभयो पबित्रा थेवे जी जोडिनुभयो, सङगै बस्यौँ । बसाई र फिल्म हेराई अघिको भन्दा गतिलो थिएन । साईली को चर्चा र सकारात्मक प्रतिकृया अाएजसरि म सन्तुष्ट भैरहेको थिईँन । हलभित्रै बसेर दिक्दारी अनुभव भैरहेको थियो । खासमा म सुरुदेखि अन्तिमसम्म तनमनका साथ ‘साईली’ हेर्न चाहान्थेँ, यो सम्भव भएन, अाफैलाई धिक्कार्दै बसिरहेँ । फिल्म सकियो हुलहरुसङग ठेलमठेल गर्दै हलबाट बाहिरिएँ । ठ्याक्कै हाङखिम दाजुसङग भेट भयो, फिल्म कस्तो लाग्यो भन्नुहुन्थ्यो होला तर अगावै हलप्रतिको गुणासो पोखाएँ । किन हल त स्टान्डर हो नि नानी, दाजुले भन्नुभयो । तर मलाई ठिक लागेन दाजु , असन्तुष्टी जनाएँ । अायोजक टिमको उहाँ एक होनहार व्यक्तित्व हुनुहुन्थ्यो ।र मनले जितेर खुलेरै भन्दिएँ । सबै दर्शकहरु मैजस्तो असन्तुष्टी हुनुभोहोला भन्दिन । मल्टिस्कृनमा मल्टि अानन्द पनि लिनुभयो होला त्यो अाफ्नो ठाउँमा रह्यो तर म भने असन्तुष्ट नै रहेँ । फिल्म भनेको फिल्म नै हो र फिल्म हेर्नलाई एउटै पर्दामा मात्रै अाकर्षक हुन्छ भन्ने मलाई लागेको हो, यो सबैलाई नलाग्न सक्छ । जे होस् फिल्म सकियो ।

एकबर्ष अगाडि देखि नै साईँली फिल्मबारे सुनेको हुँ । बुसानमा रहँदा तेहाँ दाजुहरुले लगानीबारे छलफल उठाउनुभएको थियो । कवि तथा स्क्रिप्ट राईटर अादरणिय दाजु उपेन्द्र सुब्बा सङग भएको कुराकानीको अंशहरु मलाई पनि कहिँकतै भन्नुभएको थियो । कथाका सारभुत कुराहरु पनि फाट्टफुट्ट सुनेकी हुँ । बाँकी थियो कलाकारहरु । तर मेनुका प्रधान, दयाहाङ राई भैसकेपछि शंकाको ठाउँ नै थिएन र नै तै बेलादेखि हो ‘साईँली’ फिल्म हेर्ने उत्कट ईच्छा मेरो । करिब दुईमहिना अघि देशमा चलिरहेको साईँली फिल्म र सकारात्मक प्रतिकृया सञ्जालतिर हेरिसकेपछि, पढिसकेपछि अाफु देशमा नहुनुको पश्चाताप लागिरहेको थियो । र कोरियामा प्रदर्शन गरिने कुराले खुसिले उफ्रिएकी पनि हुँ तर फेरि जमिनमै निराश भएर हिँड्नुपर्यो । समय, परिस्थिति र सबैसबै यस्तै उस्तै भएर अाईदियो, स्विकार्नुपरिहाल्यो । नेपालबाट सञ्जय याक्खा र केहि साथीले ‘साईली’ हेरिसकेपछि रिभ्यु लेख्नुस् है भन्नुभएको थियो । हुन्छ भनेकी पनि हुँ तर लेख्न सकिन, नढाँटि भन्नुपर्दा मैले ‘साईँली’ फिल्म राम्ररी हेर्न पाईन, माफ गर्नुहोला ।

साँझ परिसकेको थियो । केहि दर्शकहरु त्यतै हुनुन्थ्यो, धेरेजना त गैसक्नुभएको थियो । दिपा, दिनेश भाई र अरु दुई साथीहरु सहित हामी बाटो लाग्यौँ । टेक्सि चढेर तोङदेमुन अायौँ, दिनेश भाईसङग छुट्यौँ । दिपा र म ध्यान दाजुको रेष्टुरेन्ट अायौँ । रेष्टुरेन्टमा छिरेँ, अचम्म! त्यहाँ त मेरै पुरानो साथी हुनुहुँदोरहेछ, प्रविण राई । चिनिनँ, नचिनेपछि बोलाउने कुरा भएन तर उहाँले बोलाउनुभयो। छक्क परेँ । म कोरिया अाएकै साल छुसकको बिदामा एकपटक भेट भएको थियो उहाँसङग । त्यो भन्दा अगाडिबाट नै कुरा गरिरहन्थ्यौँ । कोरियामा म नयाँ हुँदा ताका उहाँले धेरैकुरा सिकाउनुभएको थियो, यो गुणको अाजिवन ऋणि छँदैथिएँ। हामी साथी थियौँ, साथीत्व जिवितै थियो, यत्ति हो दुर्भाग्यबस् सम्पर्कविहिन थियौँ । उहाँ लामो समय देश बसेर फर्किनुभएको रहेछ । र फेरि केहि महिना अघि मात्रै कोरिया अाउनुभएको रहेछ र भेट भयो अाज । अाश्चर्य, खुसि सबै एकैचोटि भएँ म । पुरानो कुरा गर्यौँ, एउटै टेबुलमा बसेर मेक्जु र जुस चियर्स नगरि पियौँ, र छुट्टिनु थियो छुट्टियौँ ।

साँझ त के झमक्कै रात परिसकेको थियो । बाटाका बाजे, बजैका नाङले पसलहरु तन्नाले छोपिसकेको थियो । बत्तिहरुले शहरलाई रङगिन बनाईसकेको थियो । हतारिँदै हामी फेरि तोङदेमुनको गेट नं ३ बाट ट्रेन लाईन नं १ को एकापट्टि दिपा नानी, पार्बती नाना, पदम दाजु लगायत दाजुहरुलाई हात हल्लाउँदै ठिक विपरित दिशातर्फ हुईँकिएँ म साथीसङग । कोठा अाईपुग्दा बिहान हिँडेकै समय अर्थात् १०:३० ले रात छिप्याईरहेको थियो । लखतरान ज्यान, असन्तुष्टि मन लाई बिश्राम लगाउनु थियो, दिनभरि पर्खिरहेको अाफ्नै अोछ्यानमा । उसै गरेँ र बत्तिलाई निभाईसकेपछि हुत्याईदिएँ अँध्याराहरुको साम्राज्यमा निश्चिन्त अाफुलाई पनि,,,,

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest