सम्झनामा साहसि गोर्खाली साथी

-संजिब पारदर्शी,

लेखक

“ट्रिङ्ग.. ट्रिङ्ग..” बिहानै ५:४० मा अर्लारामको रिभ्याली कल सङै जुरुक्क उठेँ । ब्रुनाइको तेल मिसिएको अली धमिलो देखिने पानीले हात मुख धोएर सदाको बिहानी जस्तै युट्युबका राम्रा-राम्रा अङ्रेजी मोटिभेसनल स्पिच सुन्दै ब्ल्याक कफी सुरुप्प-सुरुप्प पारेँ ,मनमा पालेका केही बिशाल सपनाहरु सम्झिरहुँ र मनमा सधैं सकरात्मक सोचाइको संचार भैरहोस भनेर प्राय म मोटिभेसनल स्पिच सुनीराख्ने गर्छु ।

यती हुँदा घडीको काटाले ६:१० धर्कामा औलाउदै भागदौड गर्दैथिए, हतार हतार ब्रुनाइको प्रचन्ड घामले खुइलिएको टोयोटा भियोस अन गरेर क्याम्पतिर हुइकिएँ … सधैंझै करिब ५० मिनेट फिजिकल ट्रेनिङ गरेर रामधानी पसल छेउको एक तल्ले आफ्नो फ्यमिली क्वाटरमा फर्किएँ … हिन्दूहरुको चाड दसैंको अहिले चटारो चलिराखेकोछ । आज फुलपाती, हाम्रो ब्रिटिश आर्मी क्याम्पमा पनि सबैजना सङगै बसेर भजन क्रितन गाउने र बिबिध ढङ्गले फुलपाती मनाउने भनेर मन्दिर परेड राखिएकोछ यो पनि पल्टनघरको पुरानै पराम्परा भनौ, म आफु किराती भएकोले दसैं नमनाए पनि सबै धर्म र चाडबाड प्रती मेरो उत्तिकै सम्मान भएकोले आफ्नो तीन चुला पुज्ने देखी अलावा अरु मन्दिर,मस्दिज,चर्च,गुम्बा को बेलामौकामा दर्शन गर्ने गरेको छु… मन्दिर परेड जानलाई सेतो सर्ट र फुस्रो पेन्टमा चिटिक्क आईरन लाएर बिहेमा किनेको पाल्पाली ढाकटोपी तयार गरेँ … त्यसपछी गाढा निलो रङको सरकारी सोफा माथि आफ्नो ज्यानलाई थमाएर फेसवुक जगतमा के भईरहेछ भनेर अाइफोनको स्क्रिनमा आँखासंगै आफ्ना औंलाहरु नचाए… सबै भन्दा पहिला रातो बत्तिले सङ्केत गरिरहेको नोटिफिकेसन ओपन गरेँ शिर्ष भागमा मेमोरी फेसबुकले नै सम्झाएको थियो त्यसलाइ पनि ओपन गरेँ ,आफुले फेसबुक चलाएको ईतिहास देखी पोहोर साल सम्म आजको मितिमा मैले पोस्ट गरेका कुराहरु फेसबुकले सम्झाइदिएको थियो त्यो मध्ये सात साल अगाडि आजकै दिनको मेरो पोस्टमा नजर टक्क अडियो, मुटु ढक्क फुल्यो लेखिएको थियो ”हिजो गोर्खालिको मुटुमा सार्है नमिठो चोट लाग्यो,, हजुरको आत्माले शान्ती पाओस! सबै गोर्खालिको तर्फबाट सम्मान र हार्दिक श्रदान्जली , तपाइ जस्तो बहादुर गोर्खाली हाम्रो मन र मष्तिस्कमा सधैं अमर बनेर रहिरहनुहुनेछ” ।

पढिसक्दा अनायसै मुटुको गती असामान्य रुपमा बढीरहेको थियो,, त्यो सात बर्ष अघिको कारुणिक स्‍मृतिको छालहरुमा एकएक डुब्न पुगेँ ,, उही म भन्दा एक ब्याज शिनीएर, इन्टेक २००९ का एक शाहसि गोर्खाली गुरुजी ”बिजय राइ” को श्रदा र सम्झनामा आँखाभरी आशु भरिएर टिल्पिलाइरह्यो केही बेर सम्म…अफ्गानिस्थानको नादियाली साउथ प्रान्तमा उखुरमाउलो प्रचन्ड गर्मी र खपिनसक्नु ठिहिराउने चिसोमा ६ महिना दुश्मनहरु सँग जीवन र मृत्‍युको खेल जितेर हामी ‘बि” कम्पनी आफ्नो पल्टन रहेको देश ब्रुनाइ फर्किनलाई क्याम्प वास्टनमा तयार भएर बसेका थियौँ .. दुष्मनको गोलिबाट बच्न लगाएको फलामको गर्हौ अस्प्रे निकालेर मन बहलाउन अरु सिपाही साथीहरु सँग रिक्रिएसन रुममा फेसबुक खेलाउदै थिएँ म,, एकैपटकमा चारैतिर म्यासेज प्रदान गर्न सहज होस भनेर अग्लो खम्बामा राखिएको लामो माइकमा एक्कासी आवाज आयो ’अप मिनिमाइज ! अप मिनिमाइज!!” हामी सबै जना कोठाभित्र रहेकाहरु छक्क पर्दै एक अर्का सँग हेराहेर गर्यौं ..सबैको अनुहारमा एककिसिमको त्रास झल्किन्थ्यो किनकी केही नराम्रो घटना घट्दा मात्र यस्तो म्यासेज आउने गर्थ्यो.. सबैले हत्तपत्त कम्प्युटर अफ गर्यौ, मनमनै भगवानलाई पुकारेँ ” हाम्रो गोर्खाली दाजुभाइ कसैलाई केही नहोस् रक्षा गर भगवान!’ मर्दाको मलामी बाच्दाको जन्ती आफ्नै गोर्खाली दाजुभाइको सबैभन्दा पहिले र धेरै चिन्तात लाग्नेनै भयो। एक-किसिमको त्रास मिश्रित सन्नाटा छायो, कस्लाई के भयो भन्दै निन्याउरो मुख लाएर दिनभर बसिरह्यौ.. यो सबै घटना १५ अक्टोबर २०११ को दिन थियो यानिकी आजभन्दा ७ बर्ष अगाडिको हिजोको दिन ।

“ए कम्पनिको बिजय राई हामी माझ रहनुभएन!” बेलुकी मुटु चिर्ने खबरले हामी थलियौ, युद्दमा आफ्नो साथी गुमाउनु जस्तो पिडा सायदै अरु होलान.. सम्पूर्ण गोर्खाली परीवार शोकाकुल बन्न पुग्यो। भय,निराशा, चिन्ता र पिडाको भारिले मन थिचिरह्यो.. दु:ख गरेर बुवाआमा जहान परिवार लाई सुख साथ राख्ने मेरो जस्तै मिठो सपना बोक्नुभएको एक शाहसि नेपाली छोराले सदाका लागि हामीलाई छोडेर जानुभयो… सदाका लागि बिजय राइ गुरुजी हाम्रो दोस्रो बटालियन रोयल गोर्खा राइफल्स ‘ए’ कम्पनी बाट अफ्गानिस्थानको नारेसराजमा ६ महिनाको लागि अपरेसनको निम्ती खटिनु भएको थियो। साङ्गारमा सेन्ट्री गरिरहदा दुर्भाग्यबस दुष्मनको गोली लागेर दिबंगत हुनुभयो। सन्स्कार अनुसार उहाको बिधिवत तरिकाले नेपालमा दाह- संसकार गरियो.. पछी ब्रुनाइमा उहाको सम्झनामा भब्य स्‍मृति कार्यक्रम सम्पन्न भयो र सम्पूर्ण गोर्खाली दाजुभाइको सहयोगमा सुनसरीको इटहरीमा उहाको सालीक पनि निर्माण गरिएको छ।

सात बर्ष अगाडिको मेरो स्टाटसले सम्झाइरहेछ आज फुलपातिको दिन पूजा आराधाना गर्न लागिएको मन्दिर भित्र उहाको फोटो राखेर हामी दोस्रो बटालियनका सम्पूर्ण सदस्यहरुले फुलमाला र माया सम्मान मिस्रित आसु चढाएर उहाको आत्मा शान्तिको कामना गरेका थियौ…. के गर्ने जन्मे पछी मर्नु प्रकृतिको अनिबार्य नियम नै हो, फरक यती हो मर्ने समय अनी तरिका। “गुरु तपाईं एक वीर सहिद हुनुहुन्छ , तपाईंहरुको त्याग र बलिदानी ले नै संसारमा गोर्खालिको नाम उच्च छ.. हामी सम्पूर्ण गोर्खालिहरु मिलेर एकै स्वरमा तपाईको आत्मा शान्तिको पुकार गर्दै मन्दिरमा तपाईंको नाममा फुल अर्पण गर्नेछौ, गरिरहनेछौ ….”
“जय गोर्खाली!”
-लेखक अहिले 2RGR Bruneiमा कार्यरत हुनुहुन्छ

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest