लाहुरेनी फूलको काउकुती – रेजिना राई

रेजिना राई

– रेजिना राई,
“-सुष्मा छुनाले लेख्दै गर्नुभएको उपन्यासको नाम त ‘लाहुरेनी फूल ‘ रहेछ नि ! सुष्मा रूपाबुङ राई अर्थात् ‘लाहुरेनी फूल’ उपन्यासकी लेखिका । वहासँग खै! कसरी हो ? छूना – छोक्छाको साइनो गर्नु हुँदोरहेछ मेरो श्रीमान र सुष्मा रूपाबुङ राई , आ…! जसरी भए पनि वहाहरूको साइनो सम्बन्ध हेर्दा वहाको आमा अर्थात् मेरी स्वर्गीय सासू र छूना एकै आमाको लाम्टा चुसेका हुन् लाग्छ । दुई जनाकै एकअर्काप्रति गर्ने आदर सत्कार उसै अपनत्व झल्काउने छ । मेरो तर्फबाट भन्नु पर्दा छुनाको श्रीमान संजीब पारदर्शी खोटाङ्गे हुन् त्यसैले म संजीब दाजुलाई माइती मान्छु । नेपाली समाजमा कथन नै छ माइतीको कुकुर पनि प्यारो हुन्छ, झन् वहा त हामी जस्तै मान्छे कसो वहाप्रति मेरो माइतीत्व स्नेह नपलाओस् ? हो , वहाकै साइनोबाट सुष्मा रूपाबुङ राई मेरो क्षमा सासू नभएर भाऊजू। मेरो श्रीमानले छूना भन्नुहुन्छ म भाऊजू साइनो गर्छु, भनौँ हामी अहिले जिउजिउको साइनो गर्छौ । यति हो हाम्रो सम्बन्धको नालीबेली अर्थात् हामीले बोल्ने साइनो ।

वहाले आख्यान्कार राजन मुकारूङको फेसबुक पोस्ट हेँर्दै देखाउनु भयो यी हेर त ड्राफ्ट तयार भैसकेको रहेछ । पोस्टमा लेखिएको थियो, बेथा गार्हो छ । कसैलाई पढिसक्नु छ, कसैलाई पढेर “यसो गरे कसो होला ?” भनेर सोधिदिनु पर्नेछ । अनि आफ्नैलाई चाहिँ एकपटक फेरि निर्मम भएर गिजोलगाजोल पार्नु छ । अनि ‘अयोग्य,’‘हिउँमाझी’ र लाहुरेनी फूलको पाण्डुलिपिलाई पोस्ट गर्नु भएको थियो। मेरो नजर सीधै ‘लाहुरेनी फूल’ मा गड्यो । लेखिकालाई चिनेको आफ्नो भनेर भने पटक्कै हैन उपन्यासको शीर्षकले नै मलाई तानेको हो । लेखिका सँग त उपन्यास बिमोचन/ लोकार्पणको दिन पहिलो पटक भेटेकी हुँ ।

‘लाहुरेनी फूल’ नामले नै मलाई तानेको हो । ‘शिरीषको फूल’ पढेकी हुँ ब्याचुलरमा त्यहाँ महिलाहरूलाई फूलको विम्ब दिइएको थियो भने पुरुषलाई भमराको विम्ब दिइएको थियो । सकम्बरी अर्थात् बरी पात्रले भमरा बिनाको फूलको पनि अस्तित्व हुन्छ भन्ने कुरालाइ खुब जोडले उठाएकी मुद्दा थियो । अर्थात् महिला स्वतन्त्रताको कुरा गरेकी हो उनले। मज्जा लागेको उपन्यास थियो शिरीषको फूल । मैले लहुरेनी फूललाई पनि यस्तै त होला भन्ने ठानेँ , तर यस्तै त होला भनेर पनि कहाँ यो गतिशील मन थामिने रहेछ र ! ममा लाहुरेनी फूल पढ्ने चाहनाले झन उग्र रूप लियो । त्यही समयदेखि हो मलाई लाहुरेनी फूलको काउकुतीले सताएको ।

लाहुरेनी फूलले विमोचनको मुहूर्तालाई पुस १५ गतेलाई रोज्यो फेसबुकमा देखी हालियो , अब भने झन् लाहुरेनी फूलको काउकुतीले मलाई औडाहा गर्यो । मेरो काठमाण्डौमा केही महत्वपूर्ण काम थियो तर पुस १८/१९ भन्दा पहिले हुने कुनै छाँटकाँट थिएन । जानु नै थियो काठमाण्डौ चौधै गते हिडौँ न ? सल्लाह गरे श्रीमानसँग, मैले प्रस्ताव गरेपछि श्रीमानले स्वीकार नगर्ने कुरै थिएन , सहजै मेरो प्रस्ताव स्वीकार भयो हिडियो काठमाण्डौ ।

पुस १५ गते कोटेश्वरमा नगरप्रहरी प्रभागलाई पछाडि पारेर उभिएकाछौँ। फुङ्ग धूलो उडेको छ । धूलो नै त हो हाम्रो राजधानीको पहिचान, त्यहीँ राजधानीको पहिचानसँग परिचित हुँदै नेपाल यातायातलाई समाएर अनामनगर हुइकेयौँ। काठमाण्डौ जाम राजधानीको अर्को पहिचान, यही पहिचानसँगको रस्साकसीपछि हामी पुग्यौँ अनामनगर मण्डला थीएटर । कार्यक्रमको लागि हामी नै पहिलो बनेका थियौँ। केहीबेरको बसाईपछि भने टाईमल्याप्स भिडीयो जस्तै मानिसहरूको चहलपहल निकै देखिन थाल्यो । ठीक १२ बजे कार्यक्रम सुरु भयो । अब भने लाहुरेनी फूलको धैर्यले निकास पाउँदै गरेको आभास भएको हो मलाई । कार्यक्रम कति खेर सकिने हो र लाहुरेनी फूललाई आफ्नो बसमा पारौ भएको थियो ।

अन्तत : कार्यक्रम पश्चात हामीले लाहुरेनी फूललाई आफ्नो बनायौँ । लेखिकासँग पहिलो पटक भेट अनि उनैद्वारा लिखित्त उपन्यास भएपछि लेखिकाको अटोग्राफ नलिकन मनले कहाँ मानेको हो र ! लेखिकाको अटोग्राफ लिएपछि हाम्रो भेट र लाहुरेनी फूलले अझ महत्वपूर्ण अर्थ बोक्यो । लेखिकाको अटोग्राफ सहितको उपन्यास मेरो लागि भने खास बन्यो । लाहुरेनी फूलको शब्दहरूसँगको लुकामारीको काऊकुती त छँदै थियो ।

लेखिका र लेखिकाकाे श्रीमानकाे साथमा

सुष्मा रूपाबुङ राईले ‘लाहुरेनी फूल’ उपन्यासमा हाम्रै नेपाली समाज समुदायभित्र अझ भनौँ विशेषगरी लाहुरे परिवेश , संस्कार , संस्कृति , लाहुरेप्रतिको हाम्रो दृष्टिकोण यही हामीले देखिएका भोगिएका तर नलेखिएका कुराहरूको पेरिफेरिमा रहेर अब्बल गरी कलम चलाएकी छिन् । लाहुरे परिवारलाई आर्थिक रूपले उच्चस्तर देख्ने समाजको मानसिकता त्यही लाहुरे हुन हौसिएका या अरूद्वारा नै हौसाइएका दाजुभाइहरू कडा मिहिनेत , लगाव, लगानी लाएर लाहुरे भिड्दा-भिड्दा लाहुरे नभएपछि फ्रस्टेसन, डिप्रेशनको सिकार हुँदै खाडी मुलुक जान बाध्य सयौँ युवाहरूको वर्तमान जीवन र भविष्य माथि स्पष्ट पारेकी छिन् । यही परिवेश भित्र रहेर प्रेमी – प्रेमिकाको वियोगान्त प्रेम कथाहरूलाई हुर्काउँदै -बढाउँदै – फुलाउँदै ओइलाउनेसम्म बनाएकी छिन् । लेखिका नेपाल सरकारद्वारा मान्यता प्राप्त जागिरे शिक्षिका अर्थात् मास्टर्नी ब्रिटिस लाहुरेसँग विवाह गरे पश्चात मास्टर्नीदेखि लाहुरेनीको ट्याग वा बिल्ला भिरेकी उनी एक समाज परिवर्तनको सम्वाहक , सशक्त , अब्बल , सबल लेखिका हुन् । नेपालबाट लाहुरेसँग विवाह गरेर गए पश्चात आफ्नै बाधा बाध्यताले गुमनाम भएर बस्ने धेरै महिला दिदीबहिनीहरू भनौँ लाहुरेनीहरू जस्तै नबनी उनी साहित्यको माध्यमबाट समाज परिवर्तन गर्न यसरी उत्रिएकी छिन् कि सम्पूर्ण लाहुरेनीहरूको प्रतिनिधित्व गरेकी छिन् ।

बालापन , युवा प्रेम , लाहुरे संस्कार संस्कृति, जनयुद्ध/द्वन्दकालको डर त्रास छाप, जातीय विभेद , स्कुलको एस.एल.सी. पढाइशैली जीवनशैली , कलेजको पढाइशैली, त्यतिबेलाको ब्वाइफ्रेण्ड – गर्लफ्रेण्ड , लाहुरेको छोरी शीखा छोरीलाई लाहुरेसँग विवाह गरिदिन पाए सुख पाउँछे भन्ने परम्परागत मानसिकता, नमस्तेको सिम र नोकीया सेटको जमाना, अकाउन्टेन्ट / बैङ्कर हुने सपना, लक्ष्य त्यागेर प्रेमिकाको लागि लाहुरे भिड्न तयार भएको दीप हिसाबको सुत्र घोक्न छोडेर रनिंग / दौड गर्न बिहानै निस्कने दीप , + २ पढ्दा पढ्दै विवाह गरेर कलेज नै आउन छोड्ने नारीहरू, ब्रिटिश आर्मीको जीवनशैली , खाडी जान बाध्य दाजुभाइको जीवन संघर्ष, अन्त्य , प्रेममा धोका त्याग तपस्या यी यस्तै यस्तै कुराहरूले लाहुरेनी फूल उपन्यासलाई जीवन्त बनाउन सफल छिन् लेखिका। पात्र चयन, पात्र चरित्र , पात्र नाम , पूर्वको रानी ईलामको सुन्दर चीयाबारीमा खुब घुमाएकी छिन् हामी पाठकलाई त्यति मात्र नभएर धरान, काठमाण्डौँ यूके, ब्रुनाइ, अफगानिस्तान पुर्याएकीछिन् उही लाहुरेनी फूलबाट। क्यानभासमा चित्र कोर्ने सक्षम चित्रकार पनि बनेकी छिन् यही उपन्यासमा । कथावस्तुले छुने र ती विषयबस्तुमा पाठकलाई डुबाउन सक्ने लेखिकाको सानातिना लेख रचनादेखिकै विशेषता हो ।

अन्त्यमा…
यस उपन्यासमा धाराप्रवाह पढ्ने खालको विषयवस्तु , कौतुहलता हुँदाहुँदै पनि दिनभरी ११/१२ घण्टा काम गरेर गलेको थाकेको मेरो शिथिल शरीर फेरि अर्को दिन चाँडै उठ्नुपर्ने पीडाले कहाँ धाराप्रवाह / नरोक्किकन पढ्न सक्थे र ? त्यै पनि सुत्ने बेला २/३ पेज २/३ पेज बेलुकी पढ्ँदै -पढ्ँदै ल्याएँ आज शनिबार बिदा परेकोले धाराप्रवाह पढेँ यसर्थ लाहुरेनी फूलभित्रका शब्दहरू अन्त्य गरेँ ।

….लामो धैर्यता पश्चात लाहुरेनी फूलको काउकुती मेटाउन पाएँ। यति मीठो अनि चेतनामुलक उपन्यास लेखेर हामी पाठकलाई पढ्ने अवसर जुटाइदिनु हुने लेखिकालाई धन्यवादले अपुग नै हुनेछ । विशेषत: लाहुरे समाजमा रहेर पनि लाहुरेनीलाई लाहुरेनी फूल लेख्न सपोर्ट गर्नु हुने लेखिकाको श्रीमान संजीब पारदर्शीलाई हृदयदेखि धन्यवाद भन्न चाहान्छु । यहाँनिर लेखिकाले लाहुरेनी परम्पराको नया ट्रेन बसाउनु भएको छ अनि लाहुरेको परम्परालाई विकास गर्दै प्रगतिशील छलाङ मार्नु भएको छ लाहुरे संजिबले यो वास्तवमै लाहुरे समुदायको लागि नयाँ परम्परा बन्न सफल भएको छ । यदि यी लाहुरे नभैदिएको भए यिनी लाहुरेनी हुने थिएनन् अनि यो लाहुरे र लाहुरेनीको युगल जोडी नभैदिएको भए ‘लाहुरेनी फूल’ को जन्म हुने थिएन ।

दीपको मृत्यु, शिखाको एक्लै बाँच्ने निर्णय , सामुन्द्रिक किनारनिर सन्ध्यामा सधैँ एकोहोरिएर बस्ने अधबैसे महिलाको प्रेमी क्यानभासमा उतारिएपछिको रहस्यले त्यसै-त्यसै स्तब्ध बनाइदियो मलाई…

Facebook Comments

Hello, I’m Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Sanjaya Rai

Hello, I'm Sanjay & thank you for viewing my post. Please leave comment or send me an email for any kind of suggestions.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Pin It on Pinterest